ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन् ः घनश्याम भुसाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । उनले नेकपा एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए । ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको बताए ।
उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेबाट सुरु भएको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेको आरोप लगाए । उनले अनुशासनहीनता र मूल्यहीनताको बिचमा प्रतिस्पर्धा हुँदा नराम्राहरूले जित्ने बताए । नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा छन् । जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरूका बीचमा झगडा हुन्छ, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ । आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरू नेता भएर हिँडेका छन् । यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरिका नजिक छ ।