बेहोस चालक थापालाई काठमाडौं पठाएपछि रविलाई हाइसन्चो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) अझै बेहोस छन् । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । सोमबार बिहान तीन तले घरको छतबाट खसेका थापाको होस खुल्न सकेको छैन । चितवन मेडिकल कलेजमा उनको टाउकोको अप्रेसन भएको थियो । चिकित्सकहरूले उनको अवस्था स्थिर रहेको बताएका छन् । उनको कहिलेसम्म होस खुल्छ भन्ने यसै भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ ।
सोमबार बिहान आफ्नो ड्राइभर खसेर गम्भीर घाइते भएपछि रविको चुनावी प्रचारको कार्यक्रम नै अवरुद्ध बन्यो । उनी सोमबार र मंगलबार दिनभरिजसो अस्पतालमै बसे । जब हेलिकोप्टरमार्फत थापालाई काठमाडौं पठाए तब उनलाई हाइसन्चो भएको छ । उनी अहिले चुनावी प्रचारमा सक्रिय भएर लागेका छन् ।
घटनाको दिन रविको घरमा नौजना सुतेका थिए । तर प्रहरीले अहिलेसम्म एकजना ड्राइभरबाहेक कोहीसँग पनि सोधपुछ गरेको छैन । रास्वपा पार्टी सभापति र पूर्वगृहमन्त्री भएकाले पनि रविसँग सोधुपछ गर्न प्रहरी डराएको छ । आफूसँगै सुतेको चालक सडकमा खस्दा पनि त्यहाँ भएका अन्यसँग प्रहरीले सोधपुछ नगर्नुलाई रहस्यमय मानिएको छ । जबकि यस्ता घटनामा प्रहरीले प्रत्यक्षदर्शी, घरका सदस्य र छिमेकीलाई समेत अनुसन्धानका लागि सोधपुछ गर्ने चलन थियो । तर रविको हकमा भने उन्मुक्ति दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलको मुचुल्का, सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धान अगाडि बढाए पनि कसरी घटना भयो भन्ने पत्ता लगाउन सकेको छैन । प्रहरीले अत्यधिक मदिरा सेवन वा कसैले खसालेको हुनसक्ने आशंका गरेको छ ।