आईएमई अटोमोटिभद्वारा महिलालाई हेभी इक्यूपमेन्ट अपरेटर तालिम
काठमाडौं । आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई निःशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर तालिम सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले बताए ।

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखेका छन् । उनले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताए । ‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ, तर समय बदलिएकोसँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमा समेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् । तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ । तालिममा १५ जना महिलाहरु सहभागि छन् ।