ठूला उद्योगी व्यवसायी मिलेर हिमालयन स्टक एक्सचेञ्ज खोल्दै


काठमाडौं । हिमालयन स्टक एक्सचेञ्जमा देशका ठूला उद्योगी व्यवसायीहरु आवद्ध भएका छन् । हिमालयन स्टक एक्सचेन्ज नेपाल धितोपत्र बोर्डमा दर्ता भएसँगै त्यसमा देशका ठूला उद्योगी व्यवसायीहरुको सेयर देखिएको छ । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ ।

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । उनी इन्फिनिटी होल्डिङसमा आवद्ध छन् । विशेष गरेर उनी ठेक्कापट्टा मिलाउनमा सक्रिय रहेको बताइन्छ । गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै पाँच महिना अगाडि मुद्दा परेको थियो ।

तर, अहिले यो प्रक्रिया अगाडि बढेको हो । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले बाटो खोलिदिएपछि रोकिएको प्रक्रिया अगाडि बढेको हो । नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन दोस्रो संशोधन नियमावली गत भदौमै सार्वजनिक गरेको थियो । यसअघि स्टक एक्सचेञ्जको पूँजी ५ करोड रुपैयाँ मात्रै थियो । नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएको २ वर्ष भित्र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था छ । अब हिमालयन स्टक एक्सचेञ्जको सेयर सर्वसाधारणले पनि पाउने भएका हुन् । नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरेका कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्ने व्यवस्था गरिएको छ । यस्तै, पछिल्लो १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका तथा नेपालमा लगानी गर्न स्वीकृति पाएका कम्पनीले नेपाली स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था पनि नियमावलीमा गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *