पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से, १ खर्ब पुँजीकरण गुम्यो
काठमाडौं । २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ । गत साता ६७.६८ अंकले बढेर १९३४.४७ विन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ । गत साता १९३४.४७ विन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० विन्दुमा झरेको छ ।
पछिल्लो सातामा भएको पाँच कारोबार दिनमध्ये एक कारोबारका दिन बजार बढेको थियो भने बाँकी चार कारोबार दिनमा घटेको छ । नयाँ वर्ष लागेसँगै बैंकको ब्याजदरको निक्षेपको ब्याज घटेसँगै बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार उक्लिन सकेन । गत साता वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से उच्च दरमा बढेको थियो । साताको पहिलो कारोबार दिन वैशाख ३ गते आइतबार, सोमबार,मंगलबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधबार सामान्य अंकले बढेको थियो ।
२०८० सालको पहिलो कारोबार दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ विन्दुमा झरेको थियो । उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । आइतबार कारोबारमा आएका २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता सेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ विन्दुमा झरेको थियो ।
नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो । सोमबार कारोबारमा आएका २६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता सेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो ।
त्यस्तै, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ विन्दुमा झरेको थियो । यस दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । मंगलबार कारोबारमा आएका २६६ कम्पनीको २९ लाख ७० हजार कित्ता सेयर ८६ करोड ७६ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । तर, लगातार घट्दै आएको नेप्से बुधबार भने १५.१३ अंकले बढेर १९२०.१२ विन्दुमा पुगेको थियो । बुधबार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो ।
त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा झरेको छ । बिहीबार नेप्सेसँगै काारोबार रकम पनि ९८ अर्ब रुपैयाँमा नै सीमित भएको छ । बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा देखिँदासमेत पनि सेयर बजारमा खासै प्रभाव पर्न सकेन । यसले सेयर बजार बढ्ने आशामा रहेका लगानीकर्तामा निराशा छाएको छ ।
अधिकांश बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेका छन् । यस साता नेप्सेको कुल बजार पुँजीकरण एक खर्ब बढी रुपैयाँले घटेको छ । गत साता एक खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ ।