काठमाडौं र ललितपुरमा दुर्घटना, तीनजनाको मृत्यु


काठमाडौं । काठमाडौँ र ललितपुरमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा बा५ख ७००४ नम्बरको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पाको तानसेन नगरपालिका–३ घर भएका २२ वर्षीय रसिक रामजालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, आजै काठमाडौं महानगरपालिका–१४ स्थित सडकमा बाप्र–०२–०१९प ९७१ नम्बरको मोटरसाइकल आफँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक मकवानपुरको थाहा नगरपालिका–७ का २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलंकीस्थित नेपाल नेसनल अस्पतालमा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उता, ललितपुरको गोदावरी नगरपालिका–६, टीकाभैरवस्थित सडकमा ललितपुर–५, मानभवनमा बस्दै आएका ४० वर्षीय मनि गुरुङले चलाएको साइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा उनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *