उपनिर्वाचन : तीन वटै क्षेत्रमा आजैदेखि मतगणना हुने सम्भावना
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन तीन वटै क्षेत्रमा मतदान सम्पन्न भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो ।
निर्वाचन आयोगका अनुसार बारामा ५८ प्रतिशत, चितवनमा ६० प्रतिशत र तनहुँमा ५३ प्रतिशत मत खसेको छ । मतगणना आजैदेखि सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो ।
बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म भएको थियो भने कैयौं मतदान केन्द्रमा पाँच बजेसम्म केन्द्रमा पुगेका मतदाताले मतदान गर्न पाउने गरि व्यवस्था मिलाइएको थियो ।
रामचन्द्र पौडेल राष्ट्रिपतिमा निर्वाचित भएपछि तनहुँ–१ र रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा सांसद पद रिक्त थियो । अवैध नागरिकताका कारण सर्वोच्चले रवि लामिछानेको सांसद पद खारेज गरेपछि चितवन–२ को सांसद पद पनि रिक्त रहेको थियो ।
बारा-२ मा जसपाका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीबीच बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाल मुख्य प्रतिस्पर्धी छन् ।
निर्वाचन आयोगले यी तीनै क्षेत्रमा आइतबार एकैसाथ उपनिर्वाचन गराएको हो ।