छिटफुट घटनाबाहेक तीन वटै जिल्लामा शान्तिपूर्वक रुपमा मतदान जारि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको तीन वटै जिल्लाको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

तनहुँ १, चितवन २ र बारा २ मा बिहान ७ः०० बजेदेखि मतदान जारी छ ।

जारी मतदानमा तनहुँ क्षेत्र नम्बर १ मा दिउँसो ३ः००बजेसम्ममा ४२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

अहिलेसम्म तनहुँ–१ का सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

यता, चितवन क्षेत्र नम्बर २ मा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान ७ः०० बजेदेखि भएको मतदानमा अपराह्न साँढे २ बजेसम्म ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय चितवनले साँझ ५ः०० बजेसम्म ६० प्रतिशत मत खस्ने प्रक्षेपण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि नयाँ किरण माविमा निर्वाचन सुचारु हुने भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

यस्तै, बारा क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । बारामा जारी उपनिर्वाचनमा छिटफुट घटनाबाहेक शान्तिपूर्वक रुपमा मतदान भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा दिउसो २ः०० बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।

देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपाती बुथ केन्द्रमा निर्वाचन बिथोल्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बारामा जारी मतदान बिथोल्न खोज्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका ४ का बृजकिशोर प्रसाद यादव, रौतहट वृन्दावन नगरपालिका १ का दायाराम राउत र उमेश यादव पक्राउ परेका छन् ।

यस्तै, बारा जिल्ला प्रसौनी गाउँपालिका ४ का मङ्गल प्रसाद साह, बारा कै देवताल गाउँपालिका ७ का रामसागर यादवलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *