रवि जुलुससहित मतदान केन्द्रमा प्रवेश गरेपछि स्थिति तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछाने आफ्ना कार्यकर्तासहित नाराबाजी गर्दै मतदान केन्द्रमा प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
चितवनको नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा रास्वपाका सभापति लामिछाने कार्यकर्तासहित प्रवेश गरेपछि एमाले, नेपाली कांग्रेस, माओवादीका कार्यकर्ताले विरोध गरेका हुन् ।
दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको छ । चितवन २ का उम्मेदवार भए पनि मतदान केन्द्रमा नाराबाजी गर्दै रवि प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवै पक्षबीच भानाभनसहित झडपको अवस्था आएको थियो । प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको थियो । यसक्रममा एमाले र गठबन्धनका केही कार्यकर्ता पक्राउसमेत परेका छन् ।
चितवनमा रास्वपाका कार्यकर्ताको दादागिरी बढी भएपछि एमाले र गठबन्धनका कार्यकर्ता प्रतिवाद गर्ने मनस्थितिमा पुगेका छन् । मंसिरमा अप्र्रत्यासित धेरै मत ल्याएर जितेपछि रविका समर्थकमा घमण्ड बढेको भन्दै एमाले र कांग्रेसका कार्यकर्ता आक्रोशित गरेका छन् । यसपटक दुवै पार्टीले पहिलेको मत रक्षा गर्ने किसिमले परिचालन गरेको बताएका छन् ।