तनहुँ १ मा माओवादीले लियो कांग्रेससँग बदला

काठमाडौं । माओवादी अहिले सत्तारुढ गठबन्धनको ठूलो दल हो । सरकारको नेतृत्वसमेत माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

उपनिर्वाचनमा प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हेलिकोप्टर चढेर तनहुँ १, चितवन २ र बारा २ पुगे । तर तनहुँ १ मा जारी मतगणनाअनुसार माओवादीले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई मत नै नदिएको देखिएको छ ।

माओवादीले गत स्थानीय तहको निर्वाचनमा जितेको आँवुखैरेनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेले ६६ प्रतिशत मत पाएका छन् । सो गाउँपालिकामा कांग्रेसले जितेको वडामा समेत कांग्रेस आफैंले मत सुरक्षा गर्न सकेन । माओवादीले गत निर्वाचनमा आफ्ना उम्मेदवार उठेका निर्वाचन क्षेत्रमा कांग्रेसले मत नहालेको भन्दै यसपटकको उपनिर्वाचनमा बदला लिएको देखिएको छ ।

गत स्थानीय तह र मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा माओवादीले अपेक्षा गरेको जस्तो नतिजा आएन । माओवादीले कांग्रेसको मतले धेरै ठाउँमा जित्छु भन्ने आश गरेको थियो । तर त्यस्तो भएन । काठमाडौं २, काठमाडौं ७, जुम्ला, चितवन ३ मा माओवादीका उम्मेदवारले पराजय बेहोरे । त्यही पराजयको बदला माओवादी लिन चाहन्थ्यो । यो उपनिर्वाचनमा माओवादी कार्यकर्ता र मतदाता सबैले रास्वपालाई मत हालेको देखिएको छ ।

प्रचण्डले एमाले छाडेर कांग्रेससँग गठबन्धन गरे । त्यो उनको रणनीतिक चातुर्यता थियो कांग्रेस सकाउने । उनले रवि लामिछानेसँग भित्रभित्र सहमति गरेको देखिएको छ । रविको दोहोरो राहदानीमा मुद्दा नचलाउन र अहिले रास्वपाका उम्मेदवारलाई गएको माओवादी भोटले पनि त्यो पुष्टि गरेको छ । त्यसैले अब कांग्रेसले गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने बहस सुरु गर्नुपर्ने अवस्था आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *