तनहॅु १ मा भोलिसम्म नतिजा आइसक्ने, बारा २ मा मतगणना सुरु

काठमाडौं । तनहुँ १ को उपनिर्वाचनको मंगलबारसम्म नतिजा आइसक्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले हालसम्म ४० प्रतिशत मत गनिसकेकाले मंगलबार दिउँसोसम्म नतिजा आइसक्ने जानकारी दिए ।

तनहुँमा सोमबार साढे १२ बजेसम्म २३ हजारभन्दा बढी मत गनिसकिएको छ । त्यहाँ आइतबार भएको निर्वाचनमा ६३ हजार सात सय ५७ मत खसेको थियो । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले १२ हजार सात सय मतसहित अग्रता हासिल गरेका छन् । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले सात हजार ६ सय मत ल्याएका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले चार हजार दुई सय मत प्राप्त गरेका छन् ।

आयोगका प्रवक्ता पौडेलले बारा २ मा मतगणना सुरु भएको जानकारी दिए । बारामा सीके राउतले मतगणनाको प्रत्यक्ष प्रसारण हुनुपर्ने माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार करैया गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना सुरु भएको छ । बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल उम्मेदवार छन् ।

चितवन २ मा केहीबेरमा मतगणना सुरु हुने भएको छ । चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ, रास्वपाका रवि लामिछाने र एमालेका रामप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *