रवि समर्थक भन्छन्- विगतभन्दा ठूलो अन्तरको जित हुन्छ
काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ को मतगणना चलिरहेको छ ।
हालसम्म इच्छाकामनाका १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सम्पन्न भएको छ । यी ६ वटा वडाको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले बलियो अग्रता लिएका छन् ।
रविले तीन हजार ६०२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले दुइ हजार ८२ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायण श्रेष्ठले एक हजार ४९४ मत प्राप्त गरेका छन् ।
यसअघि ४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनमा इच्छाकामनाका यी वडामा रवि लामिछानेले कम मत प्राप्त गरेका थिए । यसपटक भने यी वडाका मतदाताले आफ्नो रोजाइ बदल्ने रविमाथि भरोसा गरेको देखिएको छ ।
यी वडामा प्राप्त गरेको मतलाई आधार मान्दै राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले अघिल्लोपटकभन्दा अझ बढी मतान्तरले रविले चुनाव जित्ने दावी गरेका छन् ।