संसदमा रवि लामिछाने ‘इन’, ढाकाकुमार ‘आउट’
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद आज खुस्किने भएको छ ।
सभामुख देवराज घिमिरेले मंगलबार श्रेष्ठको सांसद पदमुक्तिसम्बन्धी निर्णय सुनाउने तयारी गरेका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले श्रेष्ठको पदमुक्तिबारे सूचना पढेर सुनाउने स्रोतले बतायो ।
रास्वपाले तीन दिनअघि मात्रै श्रेष्ठलाई कारबाही गरेको कागजात संसद् सचिवालयमा बुझाएको थियो । रास्वपा सचेतक सन्तोष परियारका अनुसार निर्णयसम्बन्धी सबै प्रक्रिया पूरा भइसकेको छ । सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकलाई सूचना दिएमा श्रेष्ठको पद गुम्ने छ ।
प्रतिनिधिसभाको निर्णयमाथि टेकेर श्रेष्ठ अदालत जान सक्ने बाटो भने बाँकी नै छ । रास्वपाका सभापति रवि लामिछानेले अदालतबाट क्लिन चिट लिएर आए श्रेष्ठलाई पहिलेकै ठाउँमा राख्न सकिने बताइसकेका छन् ।
आजै रवि लामिछाने संसद् पुनः प्रवेश गर्दैछन् । चितवन २ मा भएको निर्वाचनमा उनले फराकिलो मतसहित जित हासिल गर्ने देखिइसकेको छ । उनले ४५ हजार मत ल्याइसकेका छन् । अझै १४ हजार मत गन्न बाँकी छ ।