जारी युद्धविराम थप ७२ घण्टा लम्ब्याउने सुडानी सेनाको चाहना
खार्तुम । द्वन्द्वग्रस्त सुडानको सेनाले जारी युद्धविरामलाई थप ७२ घण्टाका लागि लम्ब्याउने चाहना व्यक्त गरेको छ । सोमबार मध्यरातबाट सुरु भएको ७२ घण्टे युद्धविराम बिहीबार राति सकिँदै छ ।
युद्धविराम सामान्यत: कायम रहे पनि राजधानी खार्तुमको बाहिरी क्षेत्रमा सेना र अर्ध सैन्यबलबीच छिटपुट भिडन्तका घटना भने भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
सेनाप्रमुख जनरल अब्देल फतह अल बुरहानले युद्धविरामको अवधि थप गर्ने योजनालाई प्रारम्भिक अनुमति दिएको सेनाले जनाएको छ । अल बुरहानले वार्ताका लागि छिमेकी देश साउथ सुडानको राजधानी जुबामा एक प्रतिनिधिमण्डल पठाउन सहमतिसमेत जनाएको सेनाले जनाएको छ । क्षेत्रीय आर्थिक संगठन आईजीएडीले दुवै पक्षलाई युद्धविरामको अवधि थप्न र वार्तामा बस्न आह्वान गरेकामा द्वन्द्वको अर्को पक्ष र्यापिड सपोर्ट फोर्सेज आरएसएफले भने अझै प्रतिक्रिया जनाएको छैन । सेनाले आफनो विज्ञप्तिमा साउथ सुडान, केन्या र जिबुटीका राष्ट्रपतिहरुले शान्तिवार्तासम्बन्धी प्रस्ताव तयार पारेको उल्लेख गरिएको छ ।
आईजीएडीमा उपरोक्त तीन राष्ट्रका अतिरिक्त सुडान, इथियोपिया, सोमालिया, युगान्डालगायतका आठ सदस्य छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्कन र अफ्रिकन युनियन कमिसनका अध्यक्ष मुसा फकी महमतले समेत सुडानमा जारी द्वन्द्व अन्त्यका उपायबारे छलफल गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
उता युद्धविरामको अवसरलाई सदुपयोग गर्दै विश्वका विभिन्न देशले सुडानबाट आ-आफ्नो देशका नागरिकलाई सुरक्षित उद्धार गर्ने कार्यलाई निरन्तरता दिएका छन् । यसैक्रममा भारतले उद्धार गरेर ल्याएको ३६० जनाको पहिलो खेप बुधबार राति दिल्ली पुगेको छ । सुडानमा फसेका आफ्ना करिब तीन हजार नागरिकलाई उद्धार गर्न भारतले अपरेसन कावेरी सञ्चालन गरेको छ ।
सुडानमा २१ नेपालीमध्ये केही बन्दरगाह सहर-पोर्ट सुडान पुगिसकेको जनाइएको छ । केही नेपाली भने साथमा आवश्यक रकम नभएका कारण राजधानी खार्तुमबाट पोर्ट सुडानसम्म पनि आउन नसकिरहेको र उद्धारको पर्खाइमा रहेको जनाइएको छ ।