मिटरब्याज पीडितलाई १५ दिनभित्र उजुरी दिन आह्वान
काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छानबिन गर्न बनेको आयोगले पीडितबाट उजुरी आह्वान गरेको छ ।
सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले यही १७ वैशाखदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरेर कार्यसञ्चालन गर्ने जनाएको छ ।
कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरुबाट निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका छन् । पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने आयोगले जनाएको छ ।
प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष स्थापना गरिएको भन्दै सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध हुने आयोगले जनाएको छ । वैशाख १७ गतेदेखि ३१ गतेसम्म निवेदन दिन पाउने आयोगले जनाएको छ ।