राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताएका हुन् । भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए ।

उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गरे । महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनुनहुने बताए ।

उनले भने ‘हामीले सांसदबाट एउटा कानुन बनायौँ । गणतन्त्र भनेको दुई खालको नागरिकहरू हुँदैन भन्यौँ । सबै समान हुन्छ भन्यौँ । त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ । नेपालको राष्ट्राध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने । अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने अथवा राज्यकोले व्यहोर्नुपर्ने । तर नागरिक चाहिँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने ।

अस्पतालमा गए बन्धक बन्नुपर्ने यो गलत । यो गर्न पाइँदैन । यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानुन बनाएका छौँ । त्यो कानुनलाई संशोधन गर्ने प्रस्तावक मध्येको एक म हुँ । म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिङ्गो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहन्छु, हाम्रो राष्ट्रपतिले मलाई के विश्वास छ भने यो कानुनको बारेमा उहाँलाई हेक्का छैन भन्ने मलाई लागेको छ । त्यसैले यो कानुनप्रति उहाँ सचेत रहेर यसरी उपचार गर्ने कुरा यहाँ गर्ने, बाहिर गर्ने यहाँका चिकित्सकहरूले भनिसकेपछि त्यो चिकित्सकीय कुरा हो ।

परिवारले गर्ने निर्णयको कुरा हो । तर त्यो उपचारको खर्च, मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट । यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ । म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पु¥याउँछ रु त्यसले राष्ट्रपतिको विश्वास कहाँ पु¥याउँछ ।’

महामन्त्री थापाले काँग्रेसले विगतमा निर्वाचन अगाडी अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महसुस गर्नुपर्ने बताए । उनले आगामी दिनमा पार्टीले कुनैपनि दलसँग कहिल्यै पनि गठबन्धन गर्नु नहुने बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरूको न्यूनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरूलाई आग्रह गरे । त्यस्तै श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उनले श्रमिकहरूलाई आह्वान गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *