निरन्तर ओरालो लाग्दै शेयर बजार
काठमाडौं । पछिल्लो केही दिनदेखि बजार ओरालो लागेको छ । ३० कारोबार दिनमा नेप्से परिसूचक २९१ दशमलव ८४ अंक घटेको छ भने १९९ दशमलव ८१ अंक बढेको छ ।
यसरी हेर्दा बजारमा क्रेताभन्दा विक्रेता हाबी भएको देखिन्छ । पछिल्लो समय बजार विस्तारका लागि नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढेको छ भने नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा रहे पनि शेयर बजारप्रति लगानीकर्ताको सक्रियता भने घट्दै छ ।
पछिल्लो समय बजारमा आर्थिक संकट शुरू भएका समाचारहरू बाहिरिएका छन् । वैशाखदेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाए तर कर्जाको ब्याजदर यथावत् हुनाले पनि शेयर बजार प्रभावित भएको देखिन्छ । बजार दिनहुँ घट्दै गर्दा लगानीकर्ता संघले अर्थमन्त्रीलाई भेटेर धितोपत्र बजारसम्बन्धी नीतिगत कुरा परिमार्जन गर्नुपर्ने माग गरेका छन् ।
घट्दो बजारमा कारोबार रकमसमेत घटेको छ । सस्तो मूल्यमा लगानीकर्ताहरूले बेच्न चाहेका छैनन् भने यो मूल्यमा खरीदकर्ता पनि आकर्षित नहुँदा कारोबार रकम रू. ६२ करोडमा झरेको छ । केही विश्लेषकहरूले यो समयमा लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने बताएका छन् ।
साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक शून्य दशमलव ४९ प्रतिशत अर्थात् ९ दशमलव १८ अंक घटेर १ हजार ८५७ दशमलव २३ विन्दुमा ओर्लिएको छ । यस दिन २६५ धितोपत्रको २१ लाख ५५ हजार ५८६ कित्ता १८ हजार ८७६ पटकमा रू. ६२ करोड २ लाख बराबर कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव शून्य ९ प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ४६५ दशमलव ५० पुगेको हो । त्यस्तै दोस्रोमा श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य ५ दशमलव ६६ प्रतिशत बढेर रू. ३२१ दशमलव २० पुगेको छ ।
बुधवार एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको इकाई मूल्य ५ दशमलव ३५ प्रतिशत घटेर रू. ७ दशमलव ६१ मा झरेको छ । त्यस्तै दोस्रोमा सनराइज ब्लूचिप फण्डको इकाई मूल्य ५ दशमलव १९ प्रतिशत घटेर रू. ७ दशमलव ३० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ३ करोड ५ लाख बराबर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. २ करोड ५६ लाख बराबर कारोबार भएको छ ।
यस दिन समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य १ प्रतिशत र म्युुचुअल फण्डको शून्य दशमलव १९ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक १ दशमलव ४८ प्रतिशत घटेको छ ।
बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३३ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव ५३ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३० प्रतिशत घटेको हो ।