अमेरिकामा ब्याजदर १६ वर्षयताकै उच्च
न्यूयोर्क । बढ्दो बजार मूल्यलाई नियन्त्रणमा ल्याउन संघर्षरत अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा वृद्धि गरी १६ वर्षयताकै उच्च विन्दुमा पुर्याएको छ ।
फेडरल फण्ड रेटमा विगत १४ महिनामा गरिएको यो १०औं पटकको वृद्धि हो । केन्द्रीय बैंकले ब्याजदरमा ०.२५ प्रतिशतले वृद्धि गरेर ५.२५ प्रतिशत पुर्याएको छ।
फेडरल फण्ड रेट भन्नाले बैंकहरुले एक अर्कासंग ऋण लिँदा तिर्नुपर्ने ब्याजदरलाई बुझाउँछ । फेडरल फण्ड रेटमा वृद्धिको अर्थ – बैंकहरुले आफ्ना ग्राहकलाई दिने ऋणको ब्याजदरमा वृद्धि हुनु हो । यसले उपभोक्ताको क्रयशक्ति र खर्चलाई नियन्त्रणमा ल्याउने तथा माग कम भएपनि बजार मूल्य स्वत कम हुने विश्वास गरिन्छ ।
गत वर्षको मार्च महिनामा फेड फण्ड रेट शून्य प्रतिशतको हाराहारीमा थियो । संघीय ब्याजदर वृद्धिले घरजग्गा कारोबार सुस्ताउनुका साथै हालै तीनवटा अमेरिकी बैंक टाट पल्टिनुमा पनि यसको भूमिका रहेको जनाइएको छ ।
बेलायत र यूरोपका केन्द्रीय बैंकहरुले पनि पछिल्ला दिनमा यस्तै कदम चालेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।