आफू निकट नेताहरू धमाधम पक्राउ पर्न थालेपछि सकसमा ओली
काठमाडौं । एमाले अध्यक्ष केपी ओली यतिबेला निकै तनावमा परेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक झापामा बोलाएका ओली पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, नैनकला थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि तनावमा परेका हुन् ।
पार्टी सांसद लक्ष्मी कोइरी सशस्त्र प्रहरी जवान थमन विकको हत्या आरोपमा सांसद पदबाट निलम्बनमा परेपछि चिन्तामा परेका ओलीलाई नक्कली शरणार्थी प्रकरणले अर्को संकट थपिदिएको छ ।
ओलीले चुनावको मुखमा कोइरीलाई पार्टी प्रवेश गराएर महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएका थिए । विवादास्पद छवि भएका व्यक्तिलाई टिकट दिएको भन्दै त्यतिबेलै ओलीको निर्णयमा विरोध जनाएका थिए । तर, कसैले खुलेर आलोचना गर्ने आँट गरेनन् ।
तर सांसद निर्वाचित भएको पाँच महिनामै कोइरी निलम्बनमा परेका छन् । अहिले प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको छ । ओलीले सभामुख देवराज घिमिरेलाई भनेर केही समय निलम्बन नगर्न भने पनि सबै दलको दबाबका अगाडि केही चलेन ।
आफूले च्यापेका व्यक्तिहरू धमाधम विभिन्न काण्डमा मुछिएपछि एमालेमा यसले तरंग सिर्जना गरेको छ । ओली प्रधानमन्त्री भएका बेला पूर्वसचिव प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गरिएको थियो । अहिले उनै राई नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् ।
संवैधानिक निकायका प्रमुखको नाम नै ठगीकाण्डमा जोडिएपछि उनलाई पनि राजीनामा दिन दबाब परेको छ । यतिबेला राई राजीनामा दिने कि मुद्दाको फेस गर्ने के गर्ने भन्नेमा द्विविधामा परेका छन् । शरणार्थी प्रकरणमा पार्टी उपाध्यक्ष बादलसमेत तानिन सक्ने देखिएको छ । उनकी श्रीमती नैनकला थापा र छोरा प्रतीक थापाको नाम जोडिएकाले बादललाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।
ओलीले नेकपाकालमा माओवादीबाट भित्र्याएका प्रभु साहले पार्टी छाडिसकेका छन् । उनले अहिले आम जनता पार्टी खोलेका छन् । एमालेकै अर्का सचिव लेखराज भट्ट पनि अहिले निष्क्रिय भएका छन् । कञ्चनपुर ३ बाट चुनाव हारेपछि उनी निष्क्रिय बनेका हुन् ।