ओलीसँगको कुराकानीमा प्रचण्डले रोक्न नसकेको हाँसो
काठमाडौं । आमनिर्वाचनमा जम्मा ३२ सिट जितेको माओवादीले अहिले केन्द्रदेखि प्रदेशसम्म सरकार सञ्चालन गरिरहेको छ । ८८ सिट भएको कांग्रेस र ७८ सिट भएको एमालेलाई बाइपास गर्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।
जनमतका हिसाबले कांग्रेस र एमाले ठूलो भए पनि शक्ति प्रयोगका हिसाबले प्रचण्ड बलिया देखिएका छन् । त्यसमाथि आफूलाई धोका दिएर एमाले गएका रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि प्रचण्ड दंग परेका छन् । जुन बिहीबार दिउँसो सिंहदरबारमा एमाले अध्यक्ष ओलीसँगको भेटको तस्बिरले पनि देखाउँछ ।
पार्टीका उपाध्यक्ष, सचिवसहितका नेता ठगीकाण्डमा मुछिएपछि बिहीबार ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए । सार्वजनिक तस्बिरले ओली निकै गलेको र अनुहार मलिन देखिन्छ । तर प्रचण्ड भने दंग परेका छन् । ओलीसँग कुराकानी गर्दा प्रचण्डको मुहारमा हाँसो देखिन्छ । एमाले अहिले झापामा केन्द्रीय कमिटी बैठक राख्ने तयारीमा जुटिरहेका बेला ठगीकाण्ड सार्वजनिक भएको छ ।
बिहीबार नै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा संलग्न हुने पहुँचवाला भए पनि नछाड्ने घोषणा गरिसकेका छन् । यसकारण अब भ्रष्टाचार गर्ने जति सबै थर्कमान भएका छन् । बहालवाला सचिव नै पक्राउ परेकाले पनि कारबाहीको डण्डा चल्ने संकेत देखिएको छ ।