निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन- ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने टिप्पणी गरेका छन् ।
सिंहदरबारमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तापछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन प्रयास नगर्ने बताए ।
उनले भने- ‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन ।’
ओलीले पार्टीको नेता र सांसदलाई सडकबाट पक्राउ गर्नुपर्ने आवश्यकता नरहेको बताउदै आफुले यस विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको बताए ।
अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने बताएका छन् ।
यस प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पनि यो प्रकरणमा मुछिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरेर काठमाडौँ ल्याइसकेको छ र उनलाई अदालतले अनुसन्धानका लागि तीन दिनको समय दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।
यस प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् ।