फौजदारी अभियोग लागेका टोपबहादुरको सांसद पद के हुन्छ ?

काठमाडौं । एमाले सचिव एवं अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएका छन् । छोरा सन्दीप रायमाझीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डेढ करोडको चेक लिएको प्रहरीले फेला पारिसकेको छ । सोही कारण टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीले बिहीबार बिहान टोपबहादुरलाई भैरहवामा नियन्त्रणमा लिए पनि अहिले उनी सम्पर्कमा नभएको समाचार बाहिर आएको छ । प्रहरीले उनको फोन ट्रयाक भैरहवामा गरेको तर भारत भने नगएको जनाएको छ । प्रहरीले आजै टोपबहादुरलाई पक्राउ गरी अदालतमा पेस गर्ने तयारी गरेको छ । यदि उनलाई पक्राउ गरी अदालतमा बुझाइएमा टोपबहादुरको सांसद पद के हुन्छ भने चासो सर्वत्र देखिएको छ ।

प्रतिनिधिसभाको नयाँ नियमावलीमा कुनै अपराधमा पक्राउ पर्दैमा र अदालतमा पेस गर्दैमा निलम्बन नहुने व्यवस्था गरिएको छ । यदि अदालतमा मुद्दा दर्ता भएको र त्यसबारे संसद् सचिवालयमा जानकारी पत्र दिएपछि मात्र सभामुखले उसको सांसद पद निलम्बन गर्ने गरी नियमावली बनाएकाले रायमाझी तत्काल निलम्बनमा नपर्ने देखिएको छ ।

यदि अनुसन्धान भएर उनीमाथि मुद्दा चलेमा र फौजदारी कसुर प्रमाणित भएमा भने रायमाझीको सांसद पद खारेज मात्र होइन, उनी जेलसमेत पर्नेछन् । तर प्रहरीले अझै धेरै अनुसन्धान गर्न बाँकी देखिएको छ ।

सचिव टेकनारायण पाण्डेले यसमा माथिल्लो निकायको पनि संलग्नता रहेको बताइसकेका छन् । त्यसैले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी पनि तानिन सक्ने सम्भावना पनि धेरै छ । किनभने पाण्डेले भुटानी शरणार्थी बनाएर अमेरिका लैजान लागिएकाबाट पैसा असुलेर ६ करोडको घर किनेको तथ्य खुलिसकेको छ ।

यसमा अब कसले कति कति बुझेको हो भन्ने खुल्न मात्र बाँकी छ । इन्द्रजित राईले साढे पाँच करोड बुझेको र सो रकम पूर्वगृहमन्त्री बादललाई बुझाउनुपर्ने भनेकाले लहरो तानिँदै गएको छ । यसअघि बादलका भाइ नरेश थापा पनि वैदेशिक रोजगारीमा पठाइने अभियोगमा पक्राउ परिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *