क्यान्टोनमेन्टमा भएको अनियमितता खोल्न प्रचण्डलाई राजेन्द्र लिङ्देनको चुनौती
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन् । जबसम्म ठूला भ्रष्टाचारका फाइल खुल्दैनन् नक्कली शरणार्थी प्रकरण त्यतिकै सामसुम हुने उनको भनाइ छ ।
आइतबार राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशन समुदघाटन गर्दै लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो टाउकोमाथि लागेको भ्रष्टाचारको आरोप पखाल्न पनि आग्रह गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरोसम्म पुगेर छानबिन गर्नसमेत माग गरे ।
‘विगतका एनसेल, वाइडबडी, ललिता निवास जस्ता ठूला भ्रष्टाचारको फाइल खोल्नुस्, प्रचण्डले कति वर्ष सरकारको नेतृत्व गर्ने हो राप्रपाले समर्थन गर्छ । क्यान्टोनमेन्टमा भएको अनियमितता के हो रु आफूलाई चोखो छु भन्ने लाग्छ भने प्रचण्डजी, आफ्नो टाउकोमाथि लागेको आरोपबाट मुक्त हुने सामर्थ्य देखाउनुस् । होइन भने भ्रष्टाचारको डंगुरमाथि बसेर सुशासनको कुरा धेरै दिन टिक्दैन,’ लिङ्देनले भने ।