नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन, इन्टरनेटका तारमा क्षति नपुर्‍याउन गर्‍याे आग्रह

काठमाडौं । टेलिफोन र इन्टरनेटका तारमा क्षति नपुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।

धेरै लामो समयदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवथापन गर्न कठिनाइ हुने भएकाले दूरसञ्चार सेवा अवरुद्ध हुन नदिने उदेश्यले व्यवस्थापनको काम निरन्तर भइरहेको हुँदा टेलिफोन, इन्टरनेटका तारमा क्षति नपुर्‍याउन शनीबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो ।
दीर्घकालीन रूपमा तारलगायत अन्य युटिलिटीहरूको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित अवस्थामा रहेको तारको व्यावस्थापनका साथै दोहोर लगानीको पनि अन्त्य हुने प्राधिकरणले जनाएको हो ।

प्राधिकरणले महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरि, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघरलगायत पाटन दरबार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बन्डलिङ गरिएको समेत जनाएको छ ।

प्राथमिकताको आधारमा अन्य ठाउँमा पनि सो कामलाई तिव्रता दिने प्राधिकरणको भनाइ छ । इन्टरनेट सेवामा केही समयपनि असर पुग्दा ठूलो मात्रामा क्षेती बेहोर्नु पर्ने भएकाले बैंक, हवाई सेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सेवा अवरूद्ध हुन जाने ‍ भएपछि प्राधिकरणले यसको पूर्वाधारमा क्षति नपुर्याउन अनुरोध गरेको हो । यसको सट्टा व्यावस्थापनका लागि सबैले सहयोग गर्नु प्राधिकरणले आग्रहसमेत गरेको छ । यदि कोही कसैले सो गराएको पाएमा दूरसञ्चार ऐन, २०५३ अनुसार दण्ड हुने नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *