केही समयका लागि ढाकाकुमारको सांसद पद थमौती
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद केही समयका लागि थमौती भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न दुई करोड बार्गेनिङ गरेको आरोपमा सांसद पदबाट हटाइएका श्रेष्ठको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्चले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
आफ्नो दल रास्ट्रिय स्वतन्त्र पार्टी र संसद् सचिवालयलाई विपक्षी बनाउँदै श्रेष्ठले वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। आफू स्वास्थ्यमन्त्री हुन लागेको र सभापति रवि लामिछानेको ‘कोर टिम’बाट पैसा मागिएको भन्दै उनले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।
त्यसलगत्तै रास्वपाले उनलाई स्पष्टीकरण सोध्दै पछि सांसदसमेत नरहने गरी निष्कासन गरेको थियो । रास्वपाले श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद सिफारिस गरेको थियो ।