नक्कली अडियो सार्वजनिक गरेपछि नेसनल दैनिक डटकम कार्बाहीमा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गदैं अडियो सार्वजनिक गर्ने अनलाइन प्रेस काउन्सिलको कारबाही परेको छ । मञ्जु खाणबाट दर्ता भएको उजुरीको आधारमा नेसनल दैनिक डटकमले अडियो सार्वजनिक गरेपछि प्रेस काउन्सिलले कारबाही गरेको हो ।
उक्त अनलाइनले ‘भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र पूर्व गृहमन्त्री खाणले घुस लिएको अडियो सार्वजनिक’ शीर्षकमा समाचार प्रकाशित गरेपछि ‘म मञ्जु खाणलाई जोडेर नक्कली आवाजको भिडियो बनाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरूमा सम्प्रेषण गरेर मानमर्यादामा चोट पुर्याएको भन्दै त्यस्तो गतिविधि गर्ने अनलाइनमाथि कार्बाहीको माग परेपछि प्रेस काउन्सिलले नेशनल दैनिक डट कमलाई कार्बाही गरेको हो ।
काउन्सिलले जनाएअनुसार अनलाइनको सम्प्रेषित सामग्री अनुगमनका क्रममा एकपक्षीय पत्रकार आचारसंहिता प्रतिकूल देखिएको र उक्त वेबपोर्टल नियमानुसार दर्ता एवम् सूचीकरण भएको छैन । सो कारण उक्त अनलाइनलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई काउन्सिलले पत्रमार्फत जानकारी गराएको छ ।