तीन ठूला शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता, के भयो छलफलमा ?
काठमाडौं । राजनैतिक दलका तीन ठूला शीर्ष नेताहरूबीच मंगलबार बिहान झन्डै दुई घण्टा वार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा तीन नेताबीच संक्रमणकालीन न्याय, नयाँ बजेट र संवैधानिक आयोगसहितका विषयमा छलफल भएको हो ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सँगै राखेर छलपल गरेका हुन्।
सो बालुवाटारमा भएको छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरणको कुराले माहोल तातिएका बेला यी तीन दलका शिर्ष नेताहरुबीचको भेटघाटलाई निकै महत्वपूर्ण रुपले हेरिएपनि तीनै पक्षले केही कुरा नखोलेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार वार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउने विषयमा कुरा भएको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संक्रणकालीन न्यासहित हाल संसदमा रहेका विधेयकहरुबारेमा तीन नेताबीच लामो छलफल भएको जानकारी दिए ।
‘संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई छिटो संसदबाट टुंगो लगाउने छलफल सकारात्मक कुरा भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको भनाई छ । यस्तै संवैधानिक आयोगहरुबारे पनि तीन नेताबीच कुराकानी भएको उनले बताए ।
सरकारको नीति तथा कार्यक्रम र बजेटबारे पनि छलफल भएको उनले बताए । प्रतिपक्षलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने भएकाले तीन नेताबीच छलफल भएको आचार्यले उल्लेख गरे ।