युनियन , प्राइम, र गुराँसबीच हालसम्मकै सबैभन्दा ठूलो मर्जर ः सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले युनियन, प्राइम, र गुराँसबीचका मर्जर संसारकै सबैभन्दा ठूलो मर्जर भएको काठमाडौंमा तीन कम्पनीबीचको एकिकृत कारोबार सुरुवातको कार्यक्रममा बताएका छन् । आजदेखि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गरेका यी तीन कम्पनीले मर्जर भएपछिको उत्तर खोज्न तिर लाग्नुपर्ने उनी बताउँछन् । ‘बजार, दक्ष कर्मचारी, अनुभवी संचालक भएको हुँदा सिनर्जी ल्याउन जोड दिनुपर्छ । बीमा कम्पनीको सफलता नै प्राधिकरणको सफलता भएको बताउँदै ’यदि भोलिका दिनमा मर्जरले सिनर्जी दियो भने प्राधिकरणको सफलता हुनेछ । उनले कम्पनीलाई सिनर्जीको लागि प्राधिकरणको निर्देशन अनुसार पुँजी वृद्धि गरेर सहि ठाउँमा लगानी गर्न, परम्परागत पोलिसी बिक्री हुन छोडेर नयाँ आधुनिक पोलिसी ल्याउन सुझाव दिएका छन् । सिलवालले सरकारले वित्तिय क्षेत्रलाई जस्तै बीमा क्षेत्रलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । ‘गत कात्तिकमा परेको बर्साले धान बालिमा ठूलो क्षति गर्यो तर बीमा नहुँदा सरकारले १० अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्नसकेको छैन, यदि बीमा गरेको भए सरकारको दायित्व बीमा कम्पनीले व्यहोर्ने थियो,’अध्यक्ष सिलवालले भने ।