एमालेले सचिव रायमाझी पदबाट निलम्बित

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई एमालेले कारबाही गरेको छ । बुधबार एमाले महासचिव शंकर पोखरेलले रायमाझीलाई सचिव पदबाट बर्खास्त गरेका हुन् ।

शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी प्रशासनमा उपस्थित नभई फरार रहँदा धेरै ठूलो क्षति पुगेको एमालेको ठहर छ । सोही कारण एमाले महासचिव पोखरेलले अनुसन्धान नसकिएसम्म र दोषी प्रमाणित नभएसम्मका लागि पार्टी सचिवबाट हटाएका हुन् ।

प्रेस वक्तव्य भनिएको छ नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको विषयमा हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । हामी विधिको शासनमा विश्वास गर्दछौ ।

राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ । सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो ।

उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो । तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिँजो बसेको केन्द्रीय सचिवालयको बैठकले गंभीरतापूर्वक लिंदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।


केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *