खाँण पक्राउबारे बुझ्न कांग्रेस शीर्ष नेता प्रधानमन्त्री कार्यालयमा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउबारे जानकारी दिन पार्टीका शीर्ष नेताहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री कार्यालयमै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित छन् ।
कांग्रेस सभापति देउवाले आफैं प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका खाँणको संलग्नता के केसी भयो भन्ने बुझ्न प्रधानमन्त्री प्रचण्डसँग भेट्न लागेको स्रोतले बतायो । यसअघि सिंहदरबारमै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसद् सञ्चालनका विषयमा शीर्ष नेताबीच छलफल भएको बताए ।
नक्कली शरणार्थी प्रकरणमा गिरोहका सदस्यले नाम लिएपछि प्रहरीले बुधबार बिहान नेता खाँणलाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनीसँग चार घन्टा लामो सोधपुछ गरी अहिले जिल्ला सरकारी कार्यालयमा बयानका लागि लगिएको छ । आजै खाँणलाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी भएको छ ।