टोपबहादुर पक्राउ पर्न जति ढिला हुन्छ त्यति एमालेको साख जनतामा गुम्दै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझी कहाँ छन् भन्ने अझै कसैले भेउ पाउन सकेको छैन । प्रहरीले रायमाझी भारतको गोरखपुरतिर रहेको सूचना पाएको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै फरार रहेका उनलाई पार्टी नेतृत्वले नै उन्मुक्ति दिन खोजेको आरोप लाग्दै आएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । तर रायमाझी फरार भएकाले एमालेमाथि चौतर्फी रूपमा आलोचना भइरहेको छ । पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीमा आत्मसमर्पण गराउन एमाले अध्यक्ष केपी ओलीले चासो नदिएको बरु जोगाउन लागेको भन्दै विरोध भइरहेको छ । जति दिन रायमाझी पक्राउ पर्दैनन्, त्यतिबेलासम्म एमालेले ठूलो क्षति बेहोर्नुपर्ने देखिएको छ । त्यही भएर एमालेले पार्टी निर्णय गर्दै रायमाझी फरार हुँदा संगठनलाई क्षति पुगेको ठहर गरेको छ ।

कांग्रेस नेता खाँण पक्राउ परेपछि अहिले रायमाझीले आत्मसमर्पण गर्ने चर्चा सुरु भएको छ । गत साताको बुधबार टोपबहादुरलाई पक्राउ गर्न पुर्जी जारी भए पनि उनले भने निर्बाध रूपले अर्घाखाँचीबाट सभामुख देवराज घिमिरेसँग सँगै बुटवल आएर काठमाडौँ आउँदा पक्राउ पर्ने भयले भैरहवाबाट बेपत्ता भएका थिए । भारतमा रहेका रायमाझीले बिहीबार बिहानसम्म आत्मसमर्पण गर्ने बुझिएको छ ।

रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । उनको नाममा डेढ करोडको चेकसमेत प्रहरीले फेला पारेको छ । बाबुको सहयोग बिना सन्दीपले यति ठूलो रकम हात पार्न नसक्ने निश्चित नै रहेको प्रहरी स्रोतको दाबी छ । यो प्रकरणमा अखितयार प्रमुख आयुक्त प्रेम कुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि पनि अनुसन्धानको तिर सोझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *