देउवा, ओली र प्रचण्डबीच भेटवार्ता भएको के थियो, बाहिर के आयो ?

काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो । भेटवार्तामा संसदीय समिति गठन र संवैधानिक परिषद्को कानुनसम्बन्धी छलफल भएको थियो । तर तीन नेताबीच नक्कली शरणार्थी प्रकरणमा आफ्ना नेतालाई चोख्याउन दौडधूप भएको भन्दै समाचार आएपछि तीन दलका नेता आश्चर्यमा परेका छन् ।

प्रचण्ड, देउवा र ओलीसहित बैठकमा कांगं्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, एमालेका महासचिव शंकर पोखरेल र माओवादीका अग्निप्रसाद सापकोटा सहभागी थिए । तर अधिकांश मिडियाले शीर्ष नेताबीच भेटवार्ता भएको र उनीहरू नक्कली शरणार्थी प्रकरणमा जोडिएका आफ्ना नेता जोगाउने प्रयासमा रहेको भन्दै समाचार छरपष्ट भएका छन् । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अघि बढ्नु र शीर्ष नेताहरूबीच संसदीय समिति गठन र संवैधानिक परिषद्सम्बन्धी कानुन बनाउने विषयबारे छलफल हुनु संयोग मात्रै भए पनि मिडिया र सामाजिक सञ्जालमा यहीबेला शीर्ष नेतृत्वलाई खुइल्याउने प्रयास गरिएको छ ।

यस विषयमा एमाले महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । उनले त्यहाँ के के भएको थियो, को को नेता संलग्न थिए ? भनेर विस्तृत रूपमा जानकारीसमेत दिएका छन् । ‘हिजो भएको शीर्ष तीन नेताको वैठकमा म पनि सहभागी भएको थिएँ एमालेबाट । त्यहाँ तीन नेताका अतिरिक्त पूर्णबहादुर खड्का र अग्नि सापकोटा पनि हुनुहुन्थ्यो ।

त्यहाँ संसदीय समिति गठनका सन्दर्भमा छलफल भएको थियो । संवैधानिक परिषदको कानुनमा प्रमलाई विशेषाधिकार दिने कुरा सत्तापक्षको रहेकोमा त्यसमा एमालेको असहमति रहेको सन्दर्भमा छलफल भएको थियो,’ पोखरेलले भने, ‘एमालेको धारणा परिषदका अध्यक्षलाई विशेषाधिकार दिने कुरा संसदीय लोकतन्त्रमा सोच्न सकिँदैन भन्ने हो। उहाँहरुको चाहिँ त्यसमा एमालेको सहमति वुझेको हुनाले समिति गठनमा सहमति भएको भन्ने थियो । तर हामीले हाम्रो असहमति राख्यौ । उहाँहरूले आफ्नो बुझाइका सन्दर्भमा पुनः छलफल गर्ने कुरा राख्नु भो । कुरा यति नै हो । अनि कहाँ आयो यस्तो दौडधूपको कुरा ?’

मिडियाले एकपक्षीय समाचार लेख्दा जनमानसमा भ्रम पैदा हुन्छ । त्यसैले विस्तृतमा घटनाको यथार्थताबारे लेख्नुपर्नेमा शीर्ष नेतृत्व खुइल्याउने तरिकाले समाचार प्रवाह भएको भन्दै कांग्रेस, एमाले, माओवादीका नेताहरू पनि चिन्तित देखिएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

गिरोहका सदस्यले नाम मुछेको भन्दैका कांग्रेसका तीन नेताको पनि नाम बाहिर आएको छ । यस विषयमा प्रहरीले अहिलेसम्म केही सार्वजनिक गरेको छैन । तर कसैले आरोप लगाउँदैमा पुष्टि नभएका कुरालाई लिएर अहिले शीर्ष नेतृत्व खुइल्याउने प्रपञ्च भइरहेको देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *