निर्दोष डराउनु पर्दैन, दोषी जहाँ गए पनि छोड्दैनौँ : मन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरु कसैलाई पनि नछोड्ने बताएका छन् । आज (बुधवार) काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्दै कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए । उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए ।
उनले भने, ‘हाम्रो देशमा अरु थुप्रै समस्याहरु छन् । कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीब्र पार्नु पर्छ । ३० लाख खाडी मुलुकमा भएको नेपाली जनता जो आमाबुबाको काख, बालबच्चाको साथ छोडेर बालबालिकाको जीवन रक्षाका लागि श्रम गरिरहेका छन्, उनीहरुलाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ ।
भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा उठाएका छौँ । कोही निर्दोष डराउनु पर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गए पनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो ।’