भुटानी शरणार्थी प्रकरणमा अहिले सम्म कति जना परे पक्राउ ?
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिवलाई बुधबार बिहान प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेपछि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १२ जना पुगेको हो ।
यस्तै मंगलबार काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
केही दिन अघि इन्द्रजित राई पनि पक्राउमा परेका छन् । राई पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार हुन् । बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले ठगी धन्धामा आरोपित ठहरभएपछि प्रहरीले पक्राउ गरेको हो । तर टोबबहादुर रायमाझीलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकिरहेको छैन ।
रायमाझी पक्राउका लागि केहीदिन अगाडी प्रहरी उनको निवासमा खानतलासी गर्नुका साथै पक्राउका लागि ७७ वटा जिल्लालाई परिपत्र गरिसकेको छ । अहिले पनि उनको खोजीकार्य जारी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई पनि सोही प्रकरणमा प्रहरीले निय्रन्त्रणमा लिइसकेको छ ।
राजनैनिक दलका हाइप्रोफाइल भएका नेताहरुले नै नेपाली नागरिकलाई बेचविखान गर्ने गरेको कार्य अहिले पुष्टि हुन थालेपछि सडक,सदन देखि सामाजिक संजालले चर्चा पाएको छ । अहिले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार रहनुमा सो दलका नेताको पनि हात रहेको बुझिन् थालेको छ । तर नेकपा एमालेले मंगलबार सो घटनाका दोषिलाई पक्राउ गर्नका लािग जारी अनुसन्धानलाई सहयोग गर्नेमा नेकपा एमाले सहमत भएको जनाएको छ ।