नेपाल एयरलाइन्सको जहाजमा समस्या, फर्काइयो काठमाडौं
काठमाडौँ । काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता ल्याइएको छ ।
आज (बिहीबार) बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको ट्वीनअटरमा केही समस्या देखिएपछि काठमाडौं नै फिर्ता गरेर सुरक्षित अवतरण गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । ट्वीनअटरको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि उडेको केही समयमा नै फिर्ता गरिएको बताइएको छ ।
‘ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको हो’, विमानस्थल स्रोतले भन्यो । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने स्रोत बताउँछ ।
बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । १६ जना यात्रु लिएर उडेको जहाज केही समयमै काठमाडौंमै अवतरण गराइएको थियो ।