लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन हुने ओलीको संकेत
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पूर्वमाओवादी लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन हुने संकेत गरेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने र त्यसमा खुट्टा कमाउन नहुने बताएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले लडाकु शिविरमा नभएका मानिसका नाममा पैसा बुझेको अवस्थासमेत रहेको बताए। ‘राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो। जो सुकैले गरेको होस्,’ उनले भने, ‘राज्यको अर्बौं हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्छ। खुट्टा नकमाउनुस्। किन खुट्टा कमाएर बस्नुहुन्छ ?’ ओली प्रधानमन्त्री हुँदा अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई नियुक्त भएका थिए । माओवादी लडाकुश शिविरमा साढे चार अर्ब हिनामिना भएको तथ्य सार्वजनिक भइसकेको छ । जसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वर्षमान पुनलगायतका नेता संलग्न रहेका छन् ।
ओलीले अहिलेको सरकारले एकलौटी निर्णय गरेर माओवादीका पूर्वलडाकुलाई पैसा दिन लागेको पनि बताए । अर्थतन्त्रमा समस्या भएका बेला लडाकुलाई पैसा दिने निर्णय सरकारले गरेको उनको भनाइ छ । ‘विकास निर्माणका काम अबरूद्ध छन्। यस्तो बेलामा बहिर्गमित लडाकु, क(कसलाई भनेर फेरि दुई लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ,’ उनले भने, ‘सरकारबाट बलजफ्ती निर्णय गराउने र फेरि एक लाख ५० हजार त्यो कार्यकर्तालाई दिने अनि बाँकी आफैँ लिने। लडाकु शिविरका सवालमा पनि त्यस्तो भएको थियो।’
ओलीले २०४७ सालदेखिका सबै भ्रष्टाचारको छानविन हुनुपर्ने पनि बताएका छन् । बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेको पनि बताए । धेरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले नक्कली शरणार्थी प्रकरण छताछुल्ल भएको उनको टिप्पणी छ ।