एमाले बैठक : शीर्ष नेताको अनुहार अँध्यारो

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले सबैभन्दा बढी तनावमा एमाले परेको सो पार्टीका शीर्ष नेताहरूको बडी ल्यांग्वेजले संकेत गर्छ । बिहीबारदेखि ललितपुरको च्यासलमा एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक जारी छ । पहिलो दिन अध्यक्ष केपी ओलीले सम्बोधन गर्दै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षले पेस गरेको प्रतिवेदनमाथि आठवटा समूह बनाई छलफल हुने भएको छ ।

शुक्रबार समूहमा रहेका टोली नेताले आफ्नो भनाइ राख्दै आएका छन् । पार्टीले लिनुपर्ने नीति र अध्यक्षले पेस गरेको प्रतिवेदनमा थप गर्नुपर्ने कुरा टिम लिडरले राख्ने क्रम जारी छ । तर बैठकमा एमाले शीर्ष नेताहरूको अनुहार हेर्नलायक रहेको छ । पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल कसैको पनि अनुहार उज्यालो छैन । सबैको अनुहार अँध्यारो छ । तर एमाले केन्द्रीय सदस्यहरूको अनुहार भने उज्यालो छ । हँसमुख देखिएका छन् ।

सबैभन्दा मलिन अनुहार अध्यक्ष ओली र महासचिव पोखरेलको देखिन्छ । बिहीबार बैठकमा सम्बोधन गर्ने बेला पनि ओलीको अनुहार त्यति उज्यालो देखिएको थिएन । उनले एक घन्टाभन्दा बढी सम्बोधन गरेका थिए ।

ओलीले नक्कली शरणार्थी प्रकरणमा एमालेका नेताहरूलाई नियतवश फसाइएको भन्दै आपत्ति जनाएका थिए । उनले कांग्रेस सरकारकै पालामा भुटानी शरणार्थी प्रकरण अघि बढेको, ठगीधन्दा सुरु भएको आरोप लगाए । जबकि गृह मन्त्रालयले उनी प्रधानमन्त्री हुँदै समिति गठन गरेको, प्रतिवेदनमा अनुसूची थपेर पैसा उठाउन थालिएको प्रहरीले फेला पारेको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव टोपबहादुर रायमाझी फस्ने देखिएपछि ओली मानसिक रूपमा निकै कमजोर देखिएको नेताहरुको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *