५ बीमा कम्पनीलाई पुँजी वृद्धि गर्न विशेष सुविधा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पाँच वटा बीमा कम्पनीलाई पुँजीवृद्धि गर्न विशेष सुविधा दिएको छ । सुविधा पाउनेमा एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एलआईसी नेपाल र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन इन्डिया मुख्य प्रवर्द्धक रहेको एलआईसीलाई माग बमोजिम हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले सहमति दिने भएको छ । ‘एलआईसी विशेष अवस्थामा ल्याएको ज्वाइन्ट भेञ्चर कम्पनी हो । यस कम्पनीको सञ्चालकले हकप्रदको माध्यमबाट पूँजी वृद्धि गर्छौं भनेको छ । कम्पनीलाई दोस्रो विकल्प पनि छैन प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने । एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड छ । कम्पनीले हालको पुँजीको ८८ प्रतिशत अर्थात २ अर्ब ३५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय विशेष साधारणसभाबाट गराईसकेको छ । बीमा प्राधिकरणले हाल भएको पुँजीको एकतिहाइ भन्दा बढी हकप्रद सेयर जारी गर्न नदिने नीति लिए पनि एलआईसीलाई ८८ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिन लागेको हो ।
त्यस्तै, एशियन लाइफले चालु वर्षको नाफा र करिव ३३.३३ प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी ५ अर्ब बनाउने भएको छ । एशियन लाइफको पुँजी हाल ३ अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर र हकप्रद सेयर निष्काशन गरी पुँजी ५ अर्ब पुर्याउने तयारी गरेको छ । चालु वर्षको नाफाबाट बोनस र ३३.३३ प्रतिशत हकप्रद सेयर जारी गरेर पनि पुँजी ५ अर्ब नपुग्ने अवस्थामा कम्पनीले सेयरधनी कोषको पैसालाई पुँजीकृत गर्ने प्रस्ताव गरेको छ । एशियनको प्रस्तावप्रति बीमा प्राधिकरण सकारात्मक रहेको छ । एनएलजी इन्स्योरेन्सलाई पनि प्रस्ताव अनुसार हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । उसलाई १ अर्ब ४ करोड पुँजी थप्नुपर्ने हुन्छ । चालु आवको नाफाबाट बोनस सेयर निष्काशन गर्ने र नपुग रकममा हकप्रद सेयर जारी गर्ने कम्पनीको योजना छ । २०६२ सालसम्म नेशनल र एनएलजी एउटै थियो ।
बीमा समितिले निर्जीवनलाई छुट्याएपछि सहायक कम्पनी भनेर एनएलजी छुट्टिएको थियो । ‘एनएलजीमा ५० प्रतिशत भन्दा बढी हिस्सा नेशनलको छ, प्राधिकरणले आफैले गरेको पुरानो निर्णय अहिले उल्ट्याउन मिल्दैन, उसलाई पनि हकप्रद सेयर निष्काशनमा बाटो खुला गर्नुको विकल्प रहेन’ प्राधिकरणका अध्यक्ष सिलवालले भने । प्राधिकरणले नेपाल इन्स्योरेन्सको माग अनुसार सम्पत्ति बेचेर बोनस सेयर वितरण गरी पुँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १ सय ९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २ सय ५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सले पुँजी वृद्धि गर्न विदेशी लगानीकर्ता भित्र्याउने नयाँ प्रस्ताव बीमा प्राधिकरणमा लगेको छ । उसले ३ महिना समय मागेकोले असार मसान्तसम्मको लागि समय दिने निर्णय भएको अध्यक्ष सिलवालले बताए ।
अरु कम्पनीले मर्ज गरेर वा सीमाभित्रको हकप्रद सेयर जारी गरेर तोकेको पुँजी पुर्याउँदैछन् । साउनसम्म पुँजी नपुर्याउने कम्पनीहरुलाई भने कारवाही गरिने उनले बताए । ‘प्रभुले विदेशबाट पार्टनर ल्याएर पुँजी वृद्धि गर्छु भनेको छ । नेपाल इन्स्योरेन्सले सम्पत्ति बिक्री गरेर पुँजी वृद्धि गर्छौं भनेको छ । उनीहरुले असारसम्म समय मागेका छन् । त्यतिबेलासम्म हामी कुर्छौं, जसले पुँजी पुर्याउन निर्देशन दिएपनि पुर्याएको छैन, मर्जरबाट भागेका छन्, ती कम्पनीहरुलाई प्राधिकरणले हेरिरहेको छ । ‘पुँजी नपुर्याउने कम्पनीहरुलाई साउन १ गतेदेखि नियामकको निर्देशनलाई उल्लङ्घन गरेको मानेर कारवाही हुन्छ, उनीहरुको कारोबार घट्छ, पोर्टफोलियो रोक्का हुन्छ, सीमित पोर्टफोलियोमा मात्रै कारोबार गर्न पाउँछन्, त्यसपछि स्वतः मर्जरमा जानु पर्ने बाध्यता आउँछ, पुँजी नपुर्याउने कम्पनीलाई प्राधिकरणले थप काम गर्न दिँदैन, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानलाई पनि यही नियम लागू हुन्छ ।