सगरमाथा आरोहणका लागि सयौं आरोही प्रतीक्षारत

काठमाडौं । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौं संख्यामा आरोही प्रतीक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा पहिलोपटक यति धेरै आरोहीले आरोहण अनुमति लिएका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा आइतबार बिहान पौने ९ बजे ६ जनाले सफलतापूर्वक पाइला टेकेका हुन् । जसमा तीन नेपाली र तीन विदेशी छन् ।
वसन्त यामको पहिलो आरोहण गर्नेमा नेपालका पासाङ तेम्बा शेर्पा, आङमिङ्‌मा शेर्पा र पासाङ दावा शर्पा छन् । यस्तै, पाकिस्तानकी नैला कैनी, अमेरिकी महिला आरोही जेसिका राए वेडेल र हंगेरियाकी मार्टोन पेटर प्राइस छन्।

पहिलो आरोहणबाटै नेपाली आरोही पासाङ दावा शर्पाले २६औँ पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका– ४ पाङबोचे निवासी शेर्पाले २६औं पटक सगरमाथाको शिखर चुमेर सबैभन्दा धेरैपटक सगरमाथा आरोहरण गरेका आरोही कामीरिता शेर्पाको कीर्तिमानसँग बराबरी गरेका छन् । यसअघि गत वर्षको वैशाख २४ गते कामीरिताले २६ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान बनाएका थिए ।

इमेजिन नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *