आफैँ प्रहरीकहाँ पुगे नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा आफैँ प्रहरीकहाँ पुगेका छन् । शरणार्थी प्रकरणसँग जोडेर मिडियामा आफ्नो नाम आएपछि उनी आफैँ सोमबार साँझ प्रहरी परिसर टेकु पुगेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले शेर्पाविरुद्ध प्रहरीले कारबाही प्रक्रिया नै अगाडि नबढाएको बताए ।
मिडियामा नाम मुछिएपछि उहाँ आफैँ बुझ्न आउनु भएको हो । मिडियामा पक्राउ पुर्जी जारी भनेर आएको छ । त्यो हल्ला हो, उहाँविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छैन, रिजालले भने । उनका अनुसार प्रहरीले उनीविरुद्ध कारबाही प्रक्रिया नै अगाडि बढाएको छैन । पक्राउ पुर्जी नै जारी नभएको अवस्थामा नाम जोडिएपछि बुझ्न आएकाले उनले आत्मसमर्पण गरेको भन्न नमिल्ने उनको भनाइ छ ।