रेशम चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ, आजै फैसला आउने सम्भावना
काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार पेसी परेको हो ।
टीकापुर घटनासम्बन्धी चौधरीसहितविरुद्धको उक्त मुद्दा यसअघि पटकपटक साधारण तारिख र पेसी सरेर हेर्दाहेर्दैमा परेको थियो । यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । आज सोमबार सरकारी वकिल र प्रतिपक्षका वकिलले बहस गर्नेछन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले हेर्दाहेर्दैमा परेको र यसअघिदेखि नै सुनुवाइ सुरू भएकाले मुद्दामा आजै फैसला आउने सम्भावना छ ।
२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । उक्त घटनामा रेशम चौधरीसहित आठजनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए ।
सरकारले पनि चौधरीसहितका बन्दीका लागि रिहाइ गर्न विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । सो विधेयक छलफल भई पारित भएमा विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भई जेल सजाय सुनाइएका अभियुक्तलाई रिहा गर्न बाटो खुल्नेछ । साथै, उनीहरूको राजनीतिक भविष्य पनि जोगिने छ । अहिले रेशम चौधरी, मोहम्मद अफताव आलम, लक्ष्मी कोइरी यस्तै मुद्दा लागेर जेलमा छन् । कोइरी भने फरार छन् ।