शरणार्थी प्रकरणमा भ्रष्ट नेताको पक्षमा ओली उभिनुको भेद खुल्दै
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी ओलीको बेचैन विस्तारै खुल्दै गएको छ । ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री रामबहादुर थापा बादल थिए । त्यसबेला नक्कली भुटानी शरणार्थी बनाई अमेरिकामा शरणार्थी पठाउने धन्दामा तत्कालीन गृहमन्त्री बादलपुत्र प्रतीक थापा र टोपबहादुर रायमाझीपुत्र सन्दीप संलग्न रहे । त्यसैबेला उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको थियो ।
ओलीको पक्षमा नउभिए अख्तियार कुनै बेला पनि खनिन सक्ने देखिएपछि बादल र रायमाझी प्रचण्डलाई छाडेर एमालेमै खुम्चिन बाध्य भएको बुझिएको छ । सोही कारण अख्तियार प्रमुख प्रेमकुमार राईलाई ओलीले भनेरै फाइल मुल्तबीमा राखिएको स्रोतले बतायो । माधवकुमार नेपाल पक्षमा देखिएका पूर्वपर्यटनमन्त्री भीम आचार्यलाई समेत ओलीले आफ्नो पक्षमा पार्नुको कारण उनीविरुद्ध अख्तियारमा परेको उजुरी बताइन्छ ।
नक्कली शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगीकाण्डमा रायमाझीको संलग्नता देखिएपछि प्रहरीले उनको खोजी गरेको थियो । वैशाख २० गते छोरा सन्दीप पक्राउ परेपछि फरार रहेका रायमाझी शुक्रबार भारतको नयाँ दिल्लीबाट पोखरा हुँदै आइतबार काठमाडौं आएर लुकिरहेको अवस्थामा पक्राउ परेका हुन् । शरणार्थी प्रकरणमा अब एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज फरार छन् ।
बादलका छोरा प्रतीकको ठगीमा संलग्नता पुष्टि भइसकेको छ । प्रहरीले शुक्रबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको सुइँको पाएपछि प्रतीक फरार भएका थिए । बादलको हकमा स्वतन्त्र प्रमाण स्थापित भइनसकेको प्रहरीले जनाएको छ । तर, गत मंगलबार पक्राउ परेका रामशरण केसीको बयानबाट उनको संलग्नता पुष्टि गर्न सकिने प्रहरीको आशा छ । सानु भण्डारीले जस्तै केसीले पनि प्रतीकलाई पैसा बुझाएको बताएका छन् । दुवैको बयानमा प्रतीकको सहयोगबारे एउटै विवरण आएपछि उनको संलग्नतामा प्रहरी विश्वस्त भएको हो ।
बाबुकै सहमतिमा प्रतीकले रकम बुझेको हुन सक्ने आशंका छ । बादल गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए । बिचौलियासँग पैसा उठाउने प्रतीक नै देखिएपछि अनुसन्धानको तिर बादलतिर सोझिएको छ । त्यसैले अब बादललाई पनि अनुसन्धानको घेरामा प्रहरीले राखेको छ ।
बादल गृहमन्त्री हुँदा बिचौलियाको स्वार्थअनुसार भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि २०७६ जेठ ३० गते कार्यदल गठन भएको थियो । कार्यदल गठन गरेलगत्तै त्यसैलाई देखाएर बिचौलिया समूहले करोडौँ पैसा उठाएको थियो । कार्यदल गठनको औचित्यमै प्रश्न उठेको छ ।
बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईले साढे पाँच करोड लिएको प्रमाण भेटिएका छन् ।
‘मन्त्रीलगायतलाई मिलाउन’ भन्दै उनले पैसा उठाएका थिए । बादलले सल्लाहकारकै सल्लाहअनुसार कार्यदल गठन गर्नु, अर्कोतर्फ छोरासमेतको मिलेमतो देखिएपछि बादलमाथि अनुसन्धान सोझिएको प्रहरीको भनाइ छ ।