प्रचण्डको भारत भ्रमण हालका लागि स्थगित
काठमाडौं । आफ्नो पहिलो विदेश भ्रमण भारत हुन्छ भनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे विस्तृतमा बोल्न असहज महसुस गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने बाध्यता के होला ? भन्दै प्रश्न गरेका थिए ।जवाफमा प्रचण्डले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता नरहेको र त्यसको जवाफ आफूले पहिलो कार्यकालमा दिइसकेको भन्दै उम्किए ।
‘भारत भ्रमण गर्नुपर्ने नेपालमा त्यस्तो कुनै बाध्यता छैन । त्यसको जवाफ मैले पहिलो प्रधानमन्त्रीकालमा दिइसकेको छु,’ प्रधानमन्त्रीले भने, ‘भारत भ्रमण गर्ने प्रचलन भए पनि राजनीतिक बाध्यता छैन ।’
प्रचण्डले आफू प्रधानमन्त्री भएको केही समयपछि भारतबाटै विदेश भ्रमणको सुरुवात गर्ने बताएका थिए । तर अहिलेसम्म भारतले उनलाई भ्रमणको औपचारिक निम्तो दिएको छैन । बरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्युगिनी, जापानको भ्रमणमा निस्केका छन् । जसकारण अबको दुई चार महिना प्रचण्डको भारत भ्रमण नहुने बताइएको छ । स्रोतका अनुसार प्रचण्डको भारत भ्रमण हालका लागि स्थगित भएको छ ।