सांसदहरूको १५ प्रश्नको जवाफ दिदै, प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै छ । मंसिरको निर्वाचनबाट आएको प्रतिनिधिसभामा ६ महिनापछि प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तर गर्न लागेका हुन् ।

अघिल्लो संसदमा एकपटक मात्रै तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सांसदहरूको प्रश्नोत्तर राखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रश्नोत्तर नै भएन ।

सांसदहरूले सभामुख देवराज घिमिरेलाई प्रश्नको विषय लिखित रूपमा जानकारी गराइसकेका छन् । सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, आर्थिक अवस्था, प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचारसम्बन्धी विभिन्न विषय, शैक्षिक अवस्था, नागरिकताको सवाल र टीकापुर घटनामा केन्द्रित प्रश्न गर्दै छन् । २० वटा प्रश्न प्रधानमन्त्री कार्यालय पुगे पनि नियमावलीअनुसार प्रधानमन्त्रीले १५ प्रश्नको जवाफ दिनेछन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ ले प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरेको छ । नियम ५६ मा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घन्टा निर्धारण गर्ने भनिएको छ ।

नियमावलीअनुसार सदस्यले आफ्नो स्थानमा उभिएर प्रश्न गर्ने र प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्छ । प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न पाउँछन् । एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाउने व्यवस्था नियमावलीमा छ । यसअघिको २०७५ को नियमावलीमा महिनाको दुईपटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने व्यवस्था थियो । संविधान निर्माणपछि ०७४ को निर्वाचनबाट आएको पहिलो प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालमा एकपटक मात्र प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *