माओवादीसँग पार्टी एकता गरेको एमालेले अहिले किन देख्दैछ लडाकु शिविरमा भएको भ्रष्टाचार ?
काठमाडौं । केही दिनयता माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिनको माग तीव्र रूपमा उठिरहेको छ । सर्वसाधारणले लडाकु शिविरमा अर्बौं भ्रष्टाचार भएको र त्यो सबै माओवादीका शीर्ष नेताले अपचलन गरेको आशंका गरेका छन् ।
स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विगतमा आफूहरूसँग सात–आठ हजार लडाकु रहेको र अनमिनलाई ३३–३४ हजारको विवरण दिएको बताएका थिए । अहिले त्यही प्रचण्डले बोलेको भिडियोलाई लिएर एमालेले लडाकु शिविरमा व्यापक भ्रष्टाचार भएको र त्यो छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको छ ।
माओवादी लडाकु शिविरको विषय टुगिएको १५ वर्ष हुन लागिसकेको छ । यसबीचमा धेरै सरकार गठन भए । माओवादीका तीनवटा सरकार भए । एमाले नेतृत्वमा पाँचवटा सरकार बन्यो । कतिसम्म भने एमाले र माओवादीबीच पार्टी एकता भई नेकपासमेत गठन भयो । तर कहिल्यै पनि एमालेले लडाकु शिविरमा पनि भ्रष्टाचार भएको छ भनेर बोलेन ।
आफ्नो नेतृत्वको सरकार हुँदा छानबिन गर्न चाहने । अहिले माओवादी अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री छन् । तर एमालेले यहीबेला लडाकु शिविर घोटालाको कुरा जोडतोडले उठाइरहेको छ । बिहीबार संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफमा प्रचण्डले लडाकु शिविरको रकममा दोषी देखिए आफू जेल जान तयार रहेको बताएका थिए । यही विषयलाई लिएर एमाले महासचिव शंकर पोखरेलले शुक्रबार आपत्ति जनाएका छन् ।
पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरको घोटाला प्रकरण भ्रष्टाचार नभइ खुलेआम लुट भएको बताएका छन् । माओवादी लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२–३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैंले बोलेको अडियोमा र रहेको र त्यो सामाजिक सञ्जालमा सुरक्षित रहेको बताएका हुन् ।
‘वास्तविक लडाकु ७–८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसिएलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट बाहिरिएका धेरैले बोल्ने गर्दछन्,’ पोखरेलले लेखेका छन्, ‘शिविरमा रहेकाहरुले बुझ्ने गरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउँदै आएको कुरा हो।’
अनमिनले प्रमाणिकरण गरेकाहरुमध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकाश रोजेर राज्यबाट ठूलो रकम प्राप्त गरेको उनले बताएका छन् । जसकारण लडाकुका नाममा राज्यलाई अनुचित आर्थक भार परेको उनले लेखेका छन् । ‘यी सबै तथ्यहरुबाट राज्यले कति अनुचित आर्थिक भार बोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न सक्ने कुरा होइन,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले नेपाली जनताले शान्तिका नाममा सबै कुरालाई आजसम्म सहँदै आएको उल्लेख गरेका छन् । ‘हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र रु तर नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहदै आएका छन् । सत्य यही हो,’ पोखरेलको भनाइ छ ।