संसद् जाँदा हुने राष्ट्रपति पौडेलको सवारीप्रति सबैको चासो

काठमाडौं । संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज पहिलोपल्ट सम्बोधन गर्दैछन्।

राष्ट्रपति चुनिएपछि पौडेलको पहिलो संसदीय सम्वोधन हुने छ। राष्ट्रपति पौडेलले अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यसूची छ । बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन्।

राष्ट्रपतिको सम्वोधन सकिएपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने कार्यतालिका छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति बैठकमा टेबुल गर्नेछन्।

सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने छ।

राष्ट्रपति निर्वाचित भएलगत्तै एक सांस्कृतिक कार्यक्रममा भएको पौडेलको सवारी विगतजस्तो भड्किलो राजशी नभएर साधारण देखिएको थियो । जसलाई लिएर सर्वसाधारणले उनको प्रशंसा गरेका थिए।

सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्न शीतल निवासबाट नयाँबानेश्वरस्थित संसद भवन जाँदा राष्ट्रपतिको पौडेलको सवारी कस्तो हुनेछ भनेर सर्वसाधारणले तीव्र प्रतीक्षा गरिरहेको देखिन्छ।

विगतका राष्ट्रपतिहरुले रिसल्लामा सवारी गर्दा सार्वजनिक यातायात अवरुद्ध गरी सर्वसाधारण घन्टौंसम्म सडकमा बस्न बाध्य भएका थिए । जसकारण राष्ट्रपतीय संस्थाप्रति आलोचना र विरोधका स्वर सुनिएका थिए ।

अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी निकै विवादमा परेको थियो । उनी औपचारिक सवारीमा निस्किँदा प्रहरी र सर्वसाधारण पैदलयात्रुबीच नै दोहोरो हानाहानसम्मका घटना भएका थिए ।

त्यसैले अहिले आमजनताले राष्ट्रपतिको औपचारिक सवारी सामान्य होस् भन्ने चाहेका छन् । राष्ट्रपति पौडेलले भने तडकभडक नगर्न सल्लाह दिएको बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *