बागमतीको मन्त्रालय भागबण्डा मिल्यो, कसलाई कति ?
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार ६ जना मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेस र नेकपा (एस)ले मागेअनुसार मन्त्रालयको संख्या उपलब्ध गराएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । जम्कट्टेलले आइतबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी मन्त्री र मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
प्रदेशको ११ मन्त्रालयमध्ये कांग्रेसले ६, माओवादीले मुख्यमन्त्रीसहित ४ र एकीकृत समाजवादीले २ मन्त्री लिने सहमती भएको छ।
आज पूर्णता पाउने प्रदेश मन्त्रिपरिषद्मा माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेका छन्।
यस्तै कांग्रेसका तर्फबाट बहादुरसिंह लामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्रालय, तिर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, रामकृष्ण चित्रकार (जिम्मेवारी पछि तोकिने), पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयमा रहेका छन्।
यसैगरी, एकीकृत समाजवादीका तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयमा रहेका छन्।