मर्जरमा जान अन्तिम रुप दिन सनराइज बैंकले डाक्यो साधारणसभा
काठमाडौं । सनराइज बैंकले आगामी असार ३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लाग आफ्नो १५ औं वार्षिक साधारण सभा डाकेको हो । बैंकको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले असार ३ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ ।
मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन डीडीए प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौतापत्र पारित गर्नेछ । यस्तै, बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । बैंकले साधारणसभा प्रयोजनार्थ जेठ २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।