संसदमा रविको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ कि छैन भनेर कहाँ जाँच गर्ने ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न विषेश संसदीय समिति गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारको विषय छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको हुन् ।
‘भ्रष्टाचारको विषयलाई बारम्बार कुरा उठाएका थियौँ । तीन दल खुसुर खुसुर बसेका छन् । हामीले आशंका व्यक्त गरेका थियौँ । आज कुनै दल दल बाँकी छैन आरोप लाग्न । अनुसन्धान गर्ने निकायकै प्रमुखहरूको नाम आइरहेको छ । अँध्यारो कोठामा गल्लीमा भएको छैन यो काम ।
दिनदहाडै उज्यालोमा, प्रधानमन्त्री कार्यालयमा, मन्त्री क्वाटरमा र सिंहदरबारमा लेनदेन भएको छ । यसको संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्छ,’ उनले भने । उनले प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भने पनि उनीहरूको मुटु चेक गर्नुपर्ने बताए। ‘मुटु दह्रो छ भनेर गृहमन्त्री र प्रधानमन्त्रीले भन्नुभएको थियो । उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने ? कति दह्रो छ भन्ने हामीले देखेका छौं,’ उनले भने, ‘खुट्टा कमाउनु भएन ।’ रविले प्रहरी प्रमुखलगायतलाई पनि सोधपुछ गरिनुपर्ने बताए।