मन्त्रिपरिषद्को निर्णय : नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने
काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।
‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गरेर पठाउने निर्णय भएको स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय यस अघि नै गरिसकेको थियो । शीतलनिवासले कानुनविद्हरुसँग आवश्यक परामर्श समेत गरिसकेको अवस्थामा शुक्रबार सोहीअनुसार मन्त्रिपरिषद्ले दुबै संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको राष्ट्रपति कार्यलयले जनाएको छ ।